Sunday, May 19, 2024 | २०८१ जेठ ६ आइतबार

ताजा अपडेट

   

रुस र युक्रेनको सैन्य शक्ति : कसको कति ?

रुसले दुई साता यतादेखि लगातार युक्रेनमाथि स्थल, जल र हवाइ सेनाद्वारा निरन्तर हमला गरिरहेको छ । रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले आधुनिक युक्रेनबाट आफूहरुलाई निरन्तर खतरा भएकाले रुसले सुरक्षित महसुस गर्न नसकेको फेब्रुअरी २४ मा टेलिभिजनमार्फत बताएका थिए । यसलगत्तै रुसले युक्रेनको विमानस्थल र सैन्य मुख्यालयमा आक्रमण गर्यो । त्यसयता अहिलेसम्म युक्रेन र रुसबीच युद्ध जारी छ । उच्च सैन्य क्षमता भएको रुसविरुद्ध युक्रेनका जनता एकजुट भएर लडिरहेका छन् । लाखौं युक्रेनी देशबाट विस्थापित पनि भएका छन् । युक्रेनी जनताको साहसी प्रयासका बावजुद पनि रुसी सैनिकहरू विस्तारै अगाडि बढिरहेका छन् ।

यी दुई राष्ट्रहरुको सैन्य क्षमता असन्तुलित छ । दुई राष्ट्रले रक्षामा खर्च गरेको बजेट हेर्दा ठूलो अन्तर देखिन्छ । युक्रेनले सन् २०२१ मा ४ दशमलव ७ बिलियन डलर बजेट खर्च गरेको थियो भने रुसले ४५ दशमलव ८ बिलियन डलर खर्च गरेको द मिलिटरी ब्यालेन्स रिपोर्टमा रणनीतिक अध्ययनका लागि अन्तर्राष्ट्रिय संस्था (आइआइएसएस) ले जनाएको छ ।

जर्जियासँगको छोटो युद्धपछि आफ्नो सेनालाई आधुनिकीकरण गर्न रुसी सरकारले सन् २००८ मा अभियान सुरु गरेको वेला युक्रेनका हतियारहरु अझै पनि सोभियत युगका छन् । र पनि नेटोको सदस्य हुने युक्रेनको योजनाअनुरुप आफ्ना सशस्त्र सेनालाई पुनः संगठित गरेको छ । सन् २०३० को मध्यसम्ममा आफ्नो वायु सेनालाई पश्चिमी लडाकू विमानहरु बराबर सुसज्जित गर्ने योजना बनाएको छ । युक्रेनले आफ्नो जलसेनाको क्षमता पनि बढाउने योजना राखेको छ ।

सैनिक क्षमता हेर्दा, रुससँग ९ लाख सैनिक छन्, भने सैन्य तालिम दिएर राखेका २० लाख ‘रिजर्भ’ सैनिक छन् । यता, युक्रेनसँग १ लाख ९६ हजार सैनिक र ९ लाख ‘रिजर्भ’ सेना छन् । युद्ध सुरु भएपछि युक्रेनले १८ देखि ६० वर्षसम्मका व्यक्तिलाई सेनामा भर्ना सुरु गरेको आइआइएसएसले जनाएको छ ।

रुसका २ लाख ८० हजार स्थल सैनिक छन् भने युक्रेनका १ लाख २५ हजार ६ सय छन् । वायु सेनाको कुरा गर्दा युक्रेनको भन्दा रुसका सैनिक ५ गुणाले बढी छन् । रुससँग १ लाख ६५ हजार वायु सैनिक छन्, युक्रेनसँग ३५ हजार छन् ।

आइआइएसएसका अनुसन्धान विश्लेषक योहान्न् मिचेनका अनुसार रुसले युद्धको सुरुवाती समयमा २ लाख सैनिकहरू युक्रेनको वरपर खटाएको थियो । यसमा ६० वटा लडाकू समूहहरु छन् । युक्रेनले भने आफूसँग भएका सबै सैनिकहरु परिचालन गरेको छ र ‘रिजर्भ’ राखिएकाहरुलाई पनि बोलाएको छ ।

युक्रेनसँग तुलना गर्दा रुससँग लडाकू विमान, बख्तरबन्द गाडी, जमिनदेखि आकाशसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्र सबै छन् । तर सामान्य रुपमा भन्दा रुसको सैन्य क्षमता युक्रेनको भन्दा कैयौं गुणा बढी छ ।

रुससँग १५ हजार ८ सय ५७ भन्दा बढी बख्तरबन्द गाडी छन्, युक्रेनसँग ३ हजार ३ सय ९ वटा रहेका छन् । लडाकू विमानहरु रुससँग युक्रेनको भन्दा १० गुणा बढी छ । युक्रेनसँग जेट १२८, हेलिकप्टर ५५ वटा छन् । रुससँग जेट १ हजार ३ सय ९१ र ८२१ हेलिकप्टर छन् । योबाहेक रुससँग ४९ वटा सवमेरिन्स छन् भने युक्रेनसँग एउटा पनि छैन । यी दुई देशबीच धेरै फरक छ । तर पनि युक्रेनले देखाएको बहादुरीलाई अहिले विश्वले नै प्रशंसा गरिरहेको छ ।

रुससँग ५ हजार ९ सय ७७ वटा आणविक हतियार रहेका छन् । यीमध्ये ४ हजार ५ सय वटा लामो दुरीसम्म प्रहार गर्न मिल्ने ब्यालेस्टिक क्षेप्यास्त्र रहेका छन् । प्रायः यी सबै हतियार आणविक युद्धसँग सम्बन्धित छन् । युक्रेन कुनै समय सोभियत संघद्धारा त्यहाँ राखिएका हजारौं आणविक हतियारहरुको घर थियो । पछि सन् १९९४ मा रुसलगायतका विश्वका शक्तिहरुले यसको सुरक्षा उल्लंघन नगर्ने प्रतिबद्धता गरेपछि ती आणविक हतियार हटाएको थियो । युक्रेनसँग आणविक हतियार छैन ।

प्रतिकृया दिनुहोस